चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध चयन भएका छन्। सभापति पदका लागि उनको मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित घोषणा गरेको हो।
पार्टीको स्थापना कालदेखि नेतृत्व गर्दै आएका लामिछाने अब दोस्रो कार्यकालका लागि पनि पार्टीको नेतृत्वमा रहने भएका छन्। चितवनमा जारी महाधिवेशनमा हजारौं प्रतिनिधिहरूको सहभागिता रहेको छ।
महाधिवेशनमा सभापति पद सहमतिमै टुंगिए पनि अन्य केन्द्रीय पद तथा केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया जारी रहेको बताइएको छ। पार्टीभित्र एकता, सुशासन र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै नेतृत्व चयन भइरहेको रास्वपाले जनाएको छ।
रवि लामिछानेले महाधिवेशनलाई सम्बोधन गर्दै गुटबन्दी नगर्न र पार्टीलाई जनताको अपेक्षा अनुसार अघि बढाउन आग्रह गरेका छन्।