समाचार :
काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। सरकारको लक्ष्यअनुसार आगामी ५०० दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने दिशामा आवश्यक कानुनी, प्रशासनिक तथा प्राविधिक प्रक्रिया तीव्र रूपमा अघि बढाइएको मन्त्री रावलको भनाइ छ।
मन्त्री रावलका अनुसार वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूलाई कानुनअनुसार जग्गाको स्वामित्व उपलब्ध गराउने सरकारको योजना रहेको छ। यसका लागि सम्बन्धित निकायहरूबीच समन्वय बढाइएको छ भने देशभर लालपुर्जा वितरणको तयारी पनि तीव्र बनाइएको जनाइएको छ।
सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि विज्ञहरूको सहभागितामा काम गरिरहेको र विगतदेखि थाँती रहेका विवादलाई व्यवस्थित रूपमा टुंग्याउने लक्ष्य लिएको मन्त्री रावलले स्पष्ट पारेकी छन्। साथै, वास्तविक पीडितलाई न्याय दिलाउने र भूमिसम्बन्धी सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि सरकारले दोहोर्याएको छ।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या नेपालमा दशकौँदेखि जटिल सामाजिक र राजनीतिक विषयका रूपमा रहँदै आएको छ। यसलाई समाधान गर्न सरकारले लिएको पछिल्लो पहल सफल भए हजारौँ परिवारले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्ने अपेक्षा गरिएको छ।
Add a Comment